
सुरक्षा सरोकार/ काठमाडौं— मोबाइलमार्फत फिसिङ लिंक पठाई चार हजारभन्दा बढी इसेवा खाता ह्याक गरी एक करोड दुई लाख रुपैयाँ चोरी गर्ने युवक काठमाडौंबाट पक्राउ परेका छन्।
कञ्चनपुरको कृष्णपुर नगरपालिका घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २२ वर्षीय राहुल बुढालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार कालिमाटीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार बुढाले एसएमएसमार्फत प्रयोगकर्तालाई “खाता निलम्बन हुन लाग्यो” भन्दै डर देखाई एक भेरिफिकेशन लिंक पठाउँथे। सो लिंकमा क्लिक गरेपछि प्रयोगकर्ताको इसेवा खाता ह्याक हुने र त्यसमा रहेको रकम पशुपति ग्लोबल इनोभेसन प्रालिको नाममा ट्रान्सफर गरिन्थ्यो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीका अनुसार बुढाले यसरी एक करोड दुई लाख रुपैयाँ चोरी गरेका थिए।
प्रहरीले अहिले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।



