
काठमाडौँ— नागार्जुन नगरपालिका–५ मा अवस्थित आदेश्वर मन्दिरमा पिसाब छर्किएको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकी महिला काठमाडौँ महानगरपालिका–१७ धोबीचौर स्थायी घर भई हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौला रहेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त स्वयम्भूका अनुसार, गत पुस २६ गते मन्दिरमा कोही नभएको मौका पारी एक महिलाले बोतलमा पिसाब लिएर मन्दिरको मूर्तिमा छर्किएको निवेदन प्राप्त भएको थियो। त्यस्तै, फागुन २१ गते पनि सोही महिलाले आदेश्वर मन्दिरमै पुनः त्यही कार्य दोहोराएको खुलेको छ।

गर्तौलाले आदेश्वर मन्दिरसँगै चुण्डेश्वर मन्दिर (नागार्जुन नगरपालिका–५), सीतापाइलास्थित गणेश मन्दिर र हरिसिद्धी मन्दिरमा समेत पिसाब छर्केर धार्मिक स्थल दूषित बनाएको प्रहरीको भनाइ छ।
सीसीटिभी फुटेजको सहायतामा गरिएको खोजतलासका क्रममा, उनलाई चैत २१ गते दिउँसो पाँच वटा प्लास्टिकको बोतलमा पिसाब जस्तो देखिने तरल पदार्थसहित आदेश्वर मन्दिरमा आएको अवस्थामा पक्राउ गरिएको हो।
उनविरुद्ध ‘धर्म सम्बन्धी कसुर’मा मुद्दा दर्ता गरिएको छ र काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रारम्भिक अनुसन्धानमा गर्तौलाले २०७६ सालदेखि हिन्दु धर्म परित्याग गरी क्रिस्चियन धर्म अंगीकार गरेको खुल्न आएको समेत प्रहरीले जनाएको छ।



