
काठमाण्डौं— फागुन ३ गते राति, इलाम नगरपालिका–४, भित्तेस्थित सोही स्थानका ६७ वर्षीय देउप्रसाद चाम्लिङ राई गोरेटो बाटोमा मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ, जिल्ला प्रहरी कार्यालय, इलामबाट प्रहरी नायब उपरीक्षक मान बहादुर राई नेतृत्वको टोली घटनास्थलमा परिचालित भयो।
प्रहरी टोलीले घटनास्थलको आवश्यक मुचुल्का उठाई, शवलाई पोष्टमार्टमका लागि इलाम अस्पताल पठायो। पोष्टमार्टम पश्चात शव आफन्तलाई बुझाइएको थियो।

घटनाको विस्तृत अनुसन्धानका क्रममा कर्तव्य ज्यान (हत्या) भएको प्रमाणित भएपछि विशेष अनुसन्धान टोली गठन गरी अभियुक्तहरूको खोजी गरिएको थियो। अनुसन्धानका क्रममा इलाम जिल्लाको सन्दकपुर गाउँपालिका–१, छरछरेस्थितबाट दुई जना अभियुक्तहरू पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा – सन्दकपुर गा.पा .१ का राम राई र बिरेन्द्र राई रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका अभियुक्तहरूलाई कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत मिति २०८१/१२/०३ गतेबाट लागू हुने गरी म्याद थपका लागि मिति २०८१/१२/०४ गते सम्मानित जिल्ला अदालत, इलाममा पेश गरिएको थियो। अदालतले ७ (सात) दिनको म्याद थप अनुमति प्रदान गरेको छ, र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक/ प्रवक्ता तथा सूचना अधिकारी मान बहादुर राईले जानकारी दिनु भयो ।



