
काठमाण्डौं— रसुवाका विभिन्न प्रहरी चेकपोस्टहरूमा खटिएको सुरक्षाकर्मी टोलीले ठूलो परिमाणमा भन्सार छली गरिएको सामान बरामद गरेको छ।
टिमुरेबाट काठमाडौं जाँदै गरेका सवारीसाधनहरू जाँच गर्ने क्रममा प्रहरीले करिब १८ लाख २० हजार ७७० रुपैयाँ बराबरको अवैध सामान फेला पारेको हो। बरामद सामग्रीमध्ये ३८ बट्टा (३८० पिस) भेप मात्र १७ लाख १० हजार रुपैयाँ बराबरको रहेको छ। साथै, ५०० एमएलको २९ बोतल चिनियाँ रक्सी, ८०० एमएलको ३० बोतल सोया सस, १.९ एमएलको २९ बोतल सोया सस, २ बट्टा रेडियोल, १० केजी पिस्ता, ८ केजी मरिच, ३५ प्याकेट बदाम, १० प्याकेट कटन क्यान्डी, र ९६ बट्टा क्यान्डी ललिपप बरामद गरिएको छ।

बरामद गरिएका सामान जिल्ला प्रहरी कार्यालय रसुवाको नियन्त्रणमा राखी, सवारीसाधन तथा चालक–सहचालकहरू सहित थप कारबाहीका लागि टिमुरे भन्सार कार्यालय, रसुवा बुझाइएको प्रहरीले जनाएको छ। अवैध व्यापार र भन्सार छली नियन्त्रण गर्न सुरक्षा निकायहरू सक्रिय रहेको समेत प्रहरी स्रोतले जनाएको छ।



