
काठमाडौं — नक्कली सुन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ का ६२ वर्षीय धनजित तामाङ र सोही नगरपालिका–४ का ४८ वर्षीय दलबहादुर तामाङ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार मूलपानीबाट उनीहरूलाई पक्राउ गरेको हो।
अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता मनोहर भट्टका अनुसार, पक्राउ परेकाहरूले सक्कली सुन भन्दै एक किलो नक्कली सुन देखाएर ठगी गरेका थिए।
प्रहरीले नक्कली सुन समेत बरामद गरेको छ। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ।



