दाङ — झन्डै ४० तोला सुनसहित एक युवक पक्राउ परेका छन्। दाङको घोराही उपमहानगरपालिका–१४ मिलन चोकका २५ वर्षीय रञ्जित रसाइलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

मोटरसाइकलमा सवार रसाइली घोराही–१५ ट्राफिक चोकबाट शुक्रबार बेलुकी ६ बजेतिर पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार रसाइली भरियाको रूपमा सुन ओसारपसार गर्ने काममा संलग्न रहेका थिए।

“रसाइलीले उक्त सुन बुटवलबाट ल्याएको देखिन्छ,” डिएसपी शाहले भने, “उनी सुन तस्करीमा क्यारियरका रूपमा काम गर्ने व्यक्ति हुन्।”

प्रहरीका अनुसार रसाइलीबाट दुई वटा सुनको सिक्री, एउटा सुनको डल्लो बरामद भएको छ। बरामद सुन तौल गर्दा जम्मा ४९७ ग्राम ४ मिलीग्राम पुगेको छ। साथै, रसाइलीको साथबाट एक लाख सात हजार आठ सय रुपैयाँ नगद पनि बरामद भएको छ।

प्रहरीले उनलाई सवार लु ४६ प ६१६१ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय