काठमाडौं फेसबुक अकाउन्ट ह्याक गरी ठगी गरेको आरोपमा अछाम प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले चौरपाटी गाउँपालिका–४ बाट हेमन्त कुमाल र शंकरराज जोशीलाई पक्राउ गरेको हो।

उनीहरूले हुम्लामा कार्यरत प्रहरी जवान खगेन्द्र प्रसाद जैसी (खेमराज तिवारी) को फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोप छ। ह्याक गरिएको अकाउन्टबाट जैसीकै ज्वाइँ नाता पर्ने व्यक्तिलाई ४० हजार रुपैयाँ डिजिटल वालेट ‘खल्ती’ मा पठाउन लगाएकोखुलासा भएको छ।

अनुसन्धानका क्रममा उक्त मोबाइल नम्बर चौरपाटी–४ का हेमन्त कुमालको रहेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय हुम्लाले उनलाई सोधपुछ गर्न अछाम प्रहरीलाई पत्रचार गरेको थियो।

सोही अनुरूप, बुधबार हेमन्तलाई नियन्त्रणमा लिइएको र सोधपुछपछि हाजिर हुने सर्तमा छोडिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस्तै, उनको बयानका आधारमा बिहीबार शंकरराज जोशीलाई पनि घरबाटै नियन्त्रणमा लिइएको छ।

उनीहरू आपराधिक गिरोहसँग संलग्न हुनसक्ने आशंका गर्दै प्रहरीले थप अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख ईश्वरी प्रसाद भण्डारीका अनुसार, सोधपुछपछि घटनाको थप विवरण खुल्ने बताइएको छ।

प्रहरीले फेसबुक ह्याकिङ र ठगी जस्ता साइबर अपराधबाट बच्न अपरिचित व्यक्तिलाई नागरिकता प्रमाणपत्र नदिन, साथै अरूको नाममा दर्ता भएको मोबाइल नम्बर आफ्नै नाममा स्थानान्तरण गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय