काठमाण्डौं— सिन्धुलीमा प्रहरीले लागुऔषध कारोबारीलाई धमाधम पक्राउ गरिरहेको छ। गोप्य सूचनाको आधारमा पछिल्ला केही दिनमा प्रहरीले विभिन्न स्थानबाट लागूऔषध सहित व्यक्तिहरूलाई पक्राउ गरेको हो।

सोमबार प्रहरीले सिराहा मिर्चैया नगरपालिका-६ का २५ वर्षीय अजय कुमार साहलाई लागुऔषधसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको टोलीले विराटनगरबाट काठमाडौं जाँदै गरेको बा ३५८ नम्बरको हाईसमा सवार साहको खुट्टामा लगाएको मोजाभित्र ९.७० ग्राम खैरो हिरोइन फेला पारेको थियो।

त्यसैगरी, आइतबार भिमानबाटै लागुऔषधसहित उदयपुर त्रियुगा नगरपालिकाका २९ वर्षीय हेमकान्त चौधरीलाई पक्राउ गरिएको थियो। चौधरीले बा ५९८८ नम्बरको हाईसमा काठमाडौं लैजान लागिएको खैरो हिरोइन सर्टको खल्तीमा लुकाइराखेका थिए।

प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेका अनुसार लागूऔषध दुर्व्यसन व्यक्तिको मात्र नभई घरपरिवार, समाज र सिंगो राष्ट्रकै समस्या बनेको छ। सिन्धुलीमा गाँजा, नाइट्राभेट ट्याब्लेट, स्पास्मोप्रोक्सिभन क्याप्सुल, नाइट्रोसन ट्याब्लेट, फेनार्ग एम्पुल, डाइजापाम एम्पुल, नोफिन एम्पुल जस्ता लागूऔषधको कारोबार हुने गरेको छ।

मुख्य कारोबारी अझै जोगिँदै—

प्रहरीका अनुसार पक्राउ पर्ने अधिकांश व्यक्ति लागूऔषध ओसार्ने भरिया मात्र हुने गर्छन्। मुख्य कारोबारी पक्राउ नपर्दा कारोबार झनै बढ्दै गएको छ। भारतमा १ ग्राम ब्राउन सुगरको मूल्य १,००० रुपैयाँ भए पनि नेपालमा आइपुगेपछि ३,००० रुपैयाँसम्म पर्ने गरेको छ। लागूऔषध कारोबारमा संलग्नलाई २० वर्षसम्मको जेल सजायको कानुनी व्यवस्था छ।

सुरुवातमा चुरोट, रक्सी, गाँजा सेवन गर्ने युवाहरू पछि गम्भीर लागूऔषध दुर्व्यसनमा फस्ने गरेका छन्। युवाहरूमा चुरोट, गाँजा, ड्रग्स र अन्य लागूऔषध सेवनले यौनशक्ति बढ्ने जस्ता भ्रमपूर्ण धारणा पनि दुर्व्यसनको कारण बन्दै गएको प्रहरी बताउँछ।

नेपालमा केही लागुऔषध प्रयोगकर्ताहरू भारतीय सहर पुगेर आफैं किनेर ल्याउने र साथीभाइलाई बेच्ने गर्छन्। केही संगठित गिरोह भारत-नेपाल दुवै क्षेत्रमा सक्रिय रहेको बताइन्छ। तर, यस्ता गिरोह प्रहरीको पहुँचभन्दा बाहिर रहेको पूर्वप्रयोगकर्ताहरू बताउँछन्।

पाँच वर्षमा २१२ जना पक्राउ—

सिन्धुली प्रहरीले पाँच वर्षको अवधिमा लागूऔषधसहित २१२ जनालाई पक्राउ गरेको छ, भने १५ जना फरार छन्।

आ.व. २०७६/७७: २६ पक्राउ, १४ मुद्दा दर्ता, ५.६ केजी गाँजा, १,५१४ एम्पुल, ९७० ट्याब्लेट बरामद।

आ.व. २०७७/७८: ६० पक्राउ, ३२ मुद्दा दर्ता, ३४ ग्राम हिरोइन, १४३ केजी गाँजा, ४,०६८ एम्पुल बरामद।

आ.व. २०७८/७९: ६५ पक्राउ, ४९ मुद्दा दर्ता, ३६ ग्राम हिरोइन, १५४ केजी गाँजा, २,३४४ एम्पुल बरामद।

आ.व. २०७९/८०: ४८ पक्राउ, ३९ मुद्दा दर्ता, १५५ ग्राम हिरोइन, ४४३२ केजी गाँजा, ३,१३७ ट्याब्लेट बरामद।

आ.व. २०८०/८१: ३१ पक्राउ, २३ मुद्दा दर्ता, ६८ ग्राम हिरोइन, २७४ केजी गाँजा, ८,७३६ ट्याब्लेट बरामद।

प्रहरीले लागूऔषध कारोबार नियन्त्रण गर्न प्रयास जारी राखेको समेत जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनु भयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय