काठमाण्डौं— रूपन्देहीको बेलहिया नाकाबाट भारत तर्फ लैजान लागिएका छ जना किशोरीहरूलाई उद्धार गरिएको छ। माइती नेपाल आवधिक गृह भैरहवा र इलाका प्रहरी कार्यालय बेलहियाको संयुक्त पहलमा ती किशोरीहरूलाई नेपाल फिर्ता गराइएको हो।

अनुसन्धानका क्रममा ती किशोरीहरूलाई फेसबुकमार्फत चिनजान भएका व्यक्तिहरूले भारतको राजस्थान, जोधपुरमा जागिर लगाइदिने प्रलोभनमा पारेर लैजान लागेको खुलेको छ। उनीहरूलाई झाडु-पोछा तथा बिरामीको हेरचाह गर्ने कामका लागि मासिक १० हजार भारतीय रुपैयाँ तलब पाउने आश्वासन दिइएको थियो।

रूपन्देही, कपिलवस्तु, गुल्मी, सिन्धुली लगायतका जिल्लाका ती किशोरीहरू आफ्नै अभिभावकको सल्लाहमा भारत जान तयार भएका थिए। मानव तस्करहरूले आफन्त बनेर उनीहरूलाई भारत लैजान लाग्दा शंकास्पद देखिएपछि बेलहियामा रोकेर उद्धार गरिएको माइती नेपाल भैरहवाकी प्रमुख माया क्षेत्रीले जानकारी दिइन्।

तस्करहरूले नेपालबाट मानिस पठाएबापत प्रति व्यक्ति १ हजार भारतीय रुपैयाँ कमिसन लिने गरेको खुलासा भएको छ। साथै, भारत जाने खर्चसमेत उतैबाट पठाइएको पीडित किशोरीहरूले बताएका छन्। उद्दार गरिएका किशोरीहरूलाई माइती नेपाल भैरहवाले संरक्षणमा राखी अभिभावकको जिम्मा लगाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय