काठमाडौं — काठमाडौंको विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका-१० का २२ वर्षीय विजय थिङ र काठमाडौंको बौद्ध बस्ने २८ वर्षीय चलान सिंह थिङ रहेका छन्।

ट्राफिक प्रहरीले चाबहिल क्षेत्रबाट विजय थिङलाई नियन्त्रणमा लिएको हो। उनले वास्तविक नम्बर बागमती प्रदेश ०२-०२७ प ८३३४ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०३-०३३ प ३५५३ राखेर चलाइरहेको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल चलान सिंह थिङबाट विजयले लिएको खुल्न आएपछि प्रहरीले उनलाई पनि बौद्ध क्षेत्रबाट पक्राउ गरेको थियो।

उक्त मोटरसाइकल अर्घाखाँचीका आदर्श बेल्बासेले काठमाडौं महानगरपालिका-३२, पञ्चमुखी क्षेत्रबाट हराएको भनी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँबानेश्वर पठाइएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरे ले जानकारी दिएका छन्।

प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी साधन चोरी हुन नदिन निम्न सुरक्षा उपायहरू अपनाउन आग्रह गरेका छन्:
• सुरक्षित स्थानमा पार्किङ गर्ने।
• ह्विल लक, चेन लक, ह्यान्डल लक, डिस्क लक लगायत सुरक्षा उपकरणहरू प्रयोग गर्ने।
• सुरक्षा साइरन जडान गर्ने।
• एउटै स्थानमा लामो समयसम्म सवारी साधन नछाड्ने।
• मानिसहरूको आवत-जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्ने।

उनले सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तुरुन्तै जानकारी गराउन तथा नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन आग्रह गरेका छन्। ट्राफिक प्रहरीले हराएका सवारी साधन खोजतलास तथा चोरी नियन्त्रण कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय