काठमाडौं — अभौतिक मुद्रा (बिटक्वाइन) कारोबार गरेको आरोपमा प्रहरीले तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भारतको जयपुरका ३० वर्षीय विजेन्द्र कुमार सैनी, राजस्थानका २२ वर्षीय मोनु सैनी र ३५ वर्षीय नन्दलाल सैनी रहेका छन्। उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटा, कपिलवस्तुको टोलीले पक्राउ गरेको हो।

स्वीप अपरेशनका क्रममा शिवराज नगरपालिका–१, शिवपुरस्थित होटल हाइवेमा जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। ९ माघदेखि सोही होटलमा बस्दै आएका उनीहरूले बिटक्वाइन कारोबार गरिरहेको पाइएको कपिलवस्तुका एसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।

प्रहरीले उनीहरूबाट २४ थान मोबाइल बरामद गरेको छ। पक्राउ परेकाविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दफा २६२ बमोजिम ‘अभौतिक मुद्रा प्रयोग गर्न नहुने’ कसुरमा अनुसन्धान सुरु गरिएको छ। कपिलवस्तु जिल्ला अदालतबाट उनीहरूविरुद्ध ७ दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय