काठमाडौं — गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–९ निवासी ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका–१३ निवासी २३ वर्षीय हरिचन्द्र भुजेल रहेका छन्।

प्रहरीले उनीहरूलाई काठमाडौंको बाफल र सोह्रखुट्टेमा रहेको कोठाबाट अनलाइन जुवा खेलाएको अवस्थामा पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरूले ‘मन्त्र १०८’ नामक वेबसाइटमार्फत अनलाइन जुवा खेलाउने र रकम संकलन गर्ने काम गर्दै आएका थिए।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले पक्राउ परेका व्यक्तिहरूले बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमहरूमा सहभागी गराएर रकम संकलन गर्ने गरेको खुलासा गरेका छन्। उनीहरूले बैंक खाता र बाइनान्स आइडीको प्रयोग गरी हालसम्म २ करोड ४१ हजार ६३६ रुपैयाँ बराबरको कारोबार गरेको तथ्य फेला परेको छ।

पक्राउ परेका व्यक्तिहरूको कोठा खानतलासी गर्दा विभिन्न सामग्री बरामद गरिएको छ। चार थान मोबाइल सेट, एक थान कम्प्युटर, एनसेलका ५० थान सिम कार्ड, एनटिसीका ९ थान सिम कार्ड, २७ थान एटिएम कार्ड, ५ थान डायरी,७ थान चेकबुक, नगद ९० हजार रुपैयाँ ।

पक्राउ परेका दुवैजनामाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को दफा १२५ अनुसार ‘जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने’ तथा दफा २६२ (क) १ अनुसार ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ बमोजिमको कसुरमा कारबाही अघि बढाइएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ।

 

प्रहरीले अनलाइनमार्फत भइरहेको गैरकानुनी गतिविधि रोक्न कडा कदम चाल्ने बताएको छ। यो घटनाले अवैध जुवा र क्रिप्टो करेन्सी प्रयोगका माध्यमबाट भइरहेका आपराधिक गतिविधिहरूको पर्दाफास गरेको छ। यसबारे थप अनुसन्धान जारी राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय