तुलसीपुर । दाङमा रुखबाट खसेर मृत्यु भएको भनिएका युवकको गोली लागेर मृत्यु भएको पुष्टि भएपछि २ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा दंगीशरण गाउँपालिका–२ का २२ वर्षीय छविलाल डाँगी र २७ वर्षीय पुष्पलाल बस्नेत रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले घोराहीमा पत्रकार सम्मेलन आयोजना गरेर पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो।

माघ ३ गते गाउँकै राजाकोट सामुदायिक वनमा शिकार खेल्न गएका ३ जनामा एक, दंगीशरण गाउँपालिका–२ का २५ वर्षीय प्रेम बहादुर कुसारी, को भरुवा बन्दुकको छर्राले लागेर मृत्यु भएको थियो। प्रहरीले यसै कारण उनलाई पक्राउ गरेको हो। कुसारीको घटनास्थलमा रुखबाट खसेर घाइते भएको र उपचारका क्रममा नेपालगंज नर्सिङहोममा मृत्यु भएको बताइएको थियो।

घटना शङ्कास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी अर्जुनप्रसाद तिमिल्सिनाको नेतृत्वमा टोली खटिएको थियो। प्रहरीले मृतक कुसारीको शव पोष्टमार्टमका लागि नेपालगंज पठाएको थियो।

पोष्टमार्टममा कुसारीको शरीरमा भरुवा बन्दुकका छर्रा फेला परेपछि प्रहरीले शिकार खेल्न गएका उनका साथी डाँगी र बस्नेतलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो। डीएसपी तिमिल्सिनाले भने, घटनामा पक्राउ परेका दुबैजनाको बयान बाझिएको भन्दै विस्तृत अनुसन्धानपछि मात्र वास्तविकता खुल्ने जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय