
महेन्द्रनगर : श्रीमान्को विमाको २८ लाख रकम हत्याउनका लागि कञ्चनपुरको बेलौरीकी एक महिलाले भारतीय प्रेमीको योजनामा आफ्नै श्रीमानको हत्या गरेको खुलासा भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटकी जनक कुमारी रानाले ४९ वर्षीय श्रीमान सियाराम रानाको इँटाले हानेर हत्या गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
जनककुमारीले भारतको खिरीको सम्पूर्णानगरका फारुख नाम गरेका प्रेमीको योजनामा श्रीमानमाथि इँटा प्रहार गरेर हत्या गरेको बयान दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेशराज जोशीले बताए ।

रानाको शव २०८१ मङ्सिर १३ गते उनकै घरमा फेला परेको थियो । दोस्रो दिन प्रहरीले जनककुमारीलाई नियन्त्रणमा लिएको थियो । जनककुमारीलाई पुर्पक्षका लागि कारागार पठाइएको कञ्चनपुर प्रहरीले बताएको छ ।



