
काठमाडौं, भदौ ९। काठमाडौं पवित्रनगरस्थित रम्भादेवी गेष्ट हाउसमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरी प्रभाग बसपार्कका प्रमुख प्रहरी निरीक्षक शरण बिक्रम शाहको नेतृत्वमा खटिएको टोलीले गेष्ट हाउसको पहिलो तलाको २०३ नम्बर कोठामा चेकजाँच गर्दा ५० ग्राम ब्राउन सुगर (खैरो पदार्थ) फेला परेको हो।

लागुऔषधसहित पक्राउ पर्नेमा दाङ, घोराही–१० घरभई हाल तारकेश्वर मनमैजु बस्ने निरोज कुँवर , भक्तपुरका सुभाष मिश्र र धादिङ घरभएका सुर्यबहादुर थापा रहेका छन्।
पक्राउ परेकामाथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाण्डौंका एसपी अपिलराज बोहराले जानकारी दिनु भयो।



