
रौतहट — रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत खुलेको छ। मृतक रौतहटको माधव नारायण नगरपालिका–२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए।
डीएसपी कार्कीका अनुसार मृतक साहको घर भारतको मुजफ्फरपुर हो। उनका आफन्तहरू सनाखतका लागि आएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार रुवीकुमारी गौरमा डेरा लिएर बस्दै आएकी थिइन्। उनका एक छोरा छन् भने उनका पति भारतमै बस्ने बुझिएको छ।

बच्चा पढाउने क्रममा गौरमा बस्दै आएकी उनी दुई दिनदेखि बेपत्ता थिइन्। यसबारे आमाले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको प्रहरीको भनाइ छ।
शनिबार राति करिब ८ बजे सडक किनारमा फालिएको सुटकेसभित्र उनको शव फेला परेको हो। प्रहरीका अनुसार यो घटना हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ र थप अनुसन्धान भइरहेको छ।



