
काठमाडौं ।साउनको अन्तिम दिन प्रहरीले ‘कन्ट्रोल नम्बर १००’ मा आएको फोनमार्फत घरेलु हिंसा मात्र होइन, हातहतियार समेत संलग्न गम्भीर घटना पत्ता लगाएको छ।
काठमाडौंको चमती बस्दै आएकी धादिङकी एक महिलाले प्रहरीलाई फोन गर्दै भनिन्, “मेरो श्रीमान्ले कुटपिट गर्यो, मार्न खोज्दैछ, बचाइदिनुहोस्।”

फोन प्राप्त हुनासाथ प्रहरी कन्ट्रोलले तत्काल प्रहरी वृत्त स्वयम्भुलाई घटनास्थलतर्फ पठायो। प्रहरी पुग्दा पीडित महिला कोठामा रोइरहेकी थिइन् भने उनका श्रीमान् फरार थिए। तर महिलाले प्रहरीलाई थप महत्वपूर्ण जानकारी दिइन्—उनका श्रीमान्ले आफूलाई मार्छु भन्दै बारम्बार धम्की दिने गरेको र पेस्तोलसमेत देखाउने गरेको।
महिलाले प्रहरीलाई घरभित्र लुकाइराखेको अटोमेटिक पेस्तोल, दुई थान म्यागजिन र सात राउन्ड गोली समेत देखाइन्। घटनास्थल प्रहरी वृत्त बालाजुको क्षेत्राधिकारभित्र पर्ने भएकाले बरामद हतियारको मुचुल्का बालाजु वृत्तले तयार ग¥यो।
पछि बालाजु प्रहरी टोलीले फरार श्रीमान्—धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं चमती बस्ने २९ वर्षीय शिवराज दराईलाई सोही रात पक्राउ गर्न सफल भयो।
प्रहरीका अनुसार दराईमाथि हातहतियार खरखजना मुद्दामा अनुसन्धान सुरु गरिएको छ।



