
उदयपुर । नाबालिका र बालिकामाथि भएको जबरजस्ती करणीका दुई फरक घटनामा संलग्न आरोपमा प्रहरीले एक अधवैंसे पुरुष र एक युवालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार, साउन २२ गते १६ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा त्रियुगा नगरपालिका–११ साकेला टोलका २२ वर्षीय सागर परियारलाई सोमबार पक्राउ गरिएको हो। घटनापछि फरार रहेका परियारलाई घरमै लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

त्यस्तै, साउन १४ गते राति ७ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा त्रियुगा नगरपालिका–११ बरुवाटारका ४५ वर्षीय शुभराज राई पक्राउ परेका छन्। आफ्नै घरमा डेरा गरी बस्ने परिवारकी बालिकामाथि कुकर्म गरेको आरोपमा फरार रहेका राईलाई तीन दिनअघि उनको घरमैबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले जानकारी दिए।
दुवै घटनामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



