
रुपन्देही — रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट मझगावामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीलाई १५ हजार रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।

भारतबाट भन्सार छली कपडा र किराना सामान ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सोमबार खत्रीलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार खत्री सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।



