
सिराहा — नरहा गाउँपालिका–३ अन्तर्गत चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीले नियमित जाँचका क्रममा अवैध नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार भारतको बिहार राज्य, मधुबनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ३० वर्षीय ओमशंकर यादव, २८ वर्षीय ऋषिनाथ मण्डल र २५ वर्षीय आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिइएको हो। उनीहरू एकै मोटरसाइकलमा सवार थिए।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेशराज पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले शङ्कास्पद रूपमा देखिएको मोटरसाइकल रोकेर जाँच गर्दा पेस्तोल लुकाइएको अवस्थामा फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी वीरेन्द्र पासवानका अनुसार पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ। आज उनीहरूलाई सिराहा जिल्ला अदालतमा पेस गरी हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा म्याद थप गरिने बताइएको छ।



