सुर्खेत, साउन ६ ।वीरेन्द्रनगर नगरपालिका–३ मा अवस्थित स्काई ड्रिम इन्टरप्रेनर्स प्रा.लि र यसमार्फत आबद्ध ग्लोबल ओरियन्स नेपाल प्रा.लि ले विदेश रोजगारी, सीपमूलक तालिम, राम्रो तलब सुविधा र आवासको प्रलोभन देखाएर करोडौं रुपैयाँ ठगी गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।

पीडितहरूको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम इन्टरप्रेनर्स र ग्लोबल ओरियन्स नेपालमा आबद्ध व्यक्तिहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

देशका विभिन्न जिल्लाबाट आएका बेरोजगार युवायुवतीहरूलाई वार्षिक रु २० हजार बुझाएर खाना, आवास र कोठाको व्यवस्था गरिदिने भन्दै कम्पनीमा भर्ना गरिन्थ्यो। त्यसपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङ मार्फत नयाँ सदस्य भित्र्याउन दबाब दिइन्थ्यो।

प्रत्येक नयाँ सदस्यबाट रु ५० हजारदेखि रु २ लाख ६० हजारसम्म असुली गरिने गरिएको पीडितहरूले बताएका छन्।

यसरी ठगी गर्दै कम्पनीहरूले करोडौं रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजतलास र अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता मोहनजंह बुट थापाले जानकारी दिएका छन्।

पक्राउ पर्नेहरूमा:

  • नरेश बोहरा (डोटी, सायल गा.पा–२)
  • कृष्ण धामी (दार्चुला, महाकाली गा.पा–४)
  • कमल शाही (अछाम, कमलबजार न.पा–६)
  • रविन्द्र शाही (अछाम, कमलबजार न.पा–६)
  • मनिषा सिंह (कञ्चनपुर, महाकाली न.पा–२)
  • निर्मला धामी (कञ्चनपुर, बेल्डाँडी गा.पा–१)
  • सुनिता साउद (बैतडी, सिगास गा.पा–६)
  • कमला चिमाला (डोटी, बडिकेदार गा.पा–४)

पीडितहरूका अनुसार, ठगीमा संलग्न भनिएका व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार कडा कारबाही गर्नुपर्ने माग गरिएको छ।

प्रहरीले यस प्रकरणमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय