
काठमाडौं – लागू औषध कारोबारमा संलग्न रहेको अभियोगमा दुई जना महिलालाई काठमाडौंको नागार्जुन नगरपालिका–५ हलचोकबाट पक्राउ गरिएको छ। प्रहरीले उनीहरूको कोठाबाट ठूलो मात्रामा गाँजा जस्तो देखिने लागू औषध र नगदसमेत बरामद गरेको छ।
महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले साउन ३ गते दिउँसो ३ः५० बजे धादिङ गजुरी गाउँपालिका–८ घर भई हाल नागार्जुन–५ हलचोक बस्दै आएकी ३८ वर्षीया चमेली ग्याल्बा तामाङ र काभ्रेपलाञ्चोक पनौती नगरपालिका–७ की १९ वर्षीया बिनिता पुरीलाई पक्राउ गरेको हो।

तामाङको डेराबाट प्रहरीले ८ किलो ५०० ग्राम गाँजा जस्तो देखिने लागू औषध, १ किलो पोल्याण्ड जस्तो देखिने गाँजाबाट बनेको पदार्थ, र नगद १६ हजार ५०० रुपैयाँ बरामद गरेको जनाएको छ।
पक्राउ परेका दुवैजना उपर लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



