
काठमाडौं — ललितपुरको गोदावरी नगरपालिका–७, बुरुन्चुलीमा मध्यराति बुद्धचित्त मालाको दाना चोरी गर्ने प्रयास भएको छ। चोरीको प्रतिकार गर्ने क्रममा स्थानीय माला धनी कृष्णबहादुर मार्पालाई छुरा प्रहार गरी घाइते बनाइएको प्रहरीले जनाएको छ।
६–७ जनाको समूहमा आएका व्यक्तिहरुले चोरी गर्न खोज्दा प्रतिकारमा उत्रिएका मार्पालाई छुरा प्रहार गरिएको हो। घाइतेको आनन्दवन अस्पतालमा उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता / एसपी चक्र जोशीले जानकारी दिए।

चोरी प्रयास असफल भएपछि समूह भागेका थिए। त्यसक्रममा गोदावरी–८, डुकुछापबाट तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा: जिवन तामाङ ,बुद्ध तामाङ र अर्जुन लामा रहेका छन् ।
उनीहरूलाई चापागाउँ प्रहरी वृत्तमा राखी अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू ट्याक्सी चढेर विशेष योजनासहित बुरुन्चुली पुगेको खुलेको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेको जनाएको छ।



