
हेटौंडा, असार २४ – मकवानपुरको थाहा नगरपालिका–४ किटेनीस्थित बलराम केसी र बासुदेव केसीको घरमा चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
घरमा कोही नभएको मौका छोप्दै दिउँसै मूलढोकाको ताला फोडेर नगद १ लाख ५ हजार रुपैयाँसहित मोबाइल, खुकुरी र अन्य जिन्सी सामान चोरी गरिएको प्रहरीले जनाएको छ। घटनापछि इलाका प्रहरी कार्यालय पालुङको टोलीले संलग्न तीन जनालाई सोमबार नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा सर्लाही हरिवन नगरपालिका–९ का ३० वर्षीय संजीव परियार, थाहा नगरपालिका–२ देउलाटोलका ३५ वर्षीय कान्छा उर्फ प्रदीप पोडे, र ललितपुर गोदावरी नगरपालिका–१३ झरासीका ३० वर्षीय चमार उर्फ बिमल नेपाली रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट ६८ हजार ९३१ रुपैयाँ नगद, विभिन्न कम्पनीका पाँच थान मोबाइल, एक थान सिमकार्ड, सुनको औंठी, खुकुरी, कटर चक्कु, घडी, मूर्ति लगायतका सामग्री बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबु अर्यालका अनुसार, पक्राउ परेकाहरूमाथि मकवानपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।



