
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गास्थित चेक प्वाइन्टमा लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक युवक पक्राउ परेका छन्।
२०७९ असार २२ गते बिहान करिब ८:४५ बजेको समयमा राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ३०९८ नम्बरको यात्रु बसमा चेकजाँचका क्रममा सिराहा जिल्लाको गोलबजार नगरपालिका–७ निवासी २७ वर्षीय जीवन साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले बसमा चेकजाँच गर्दा साहको साथबाट करिब १० ग्राम लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरेको जनाइएको छ।
पक्राउ परेका साहविरुद्ध थप अनुसन्धान अघि बढाइएको छ। सम्मानित काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



