काठमाडौं—वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ बस्ने ३२ वर्षीय फिन्चु लामा (रोहन) र संखुवासभाको खाँदबारी नगरपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्।

फिन्चु लामाले लिथुआनिया, रोमानिया लगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जना पीडितबाट करिब १ करोड ८० लाख ९३ हजार रुपैयाँ ठगी गरेका थिए। यस्तै, उत्तम खड्काले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रुपैयाँ असुली सम्पर्कबिहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई काठमाडौं महानगरपालिका–१० बाट शुक्रबार र खड्कालाई कागेश्वरी मनोहरा नगरपालिका–८ बाट आइतबार पक्राउ गरेको हो।

उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय