काठमाडौं । नेपाल प्रहरीमा बरिष्ठ उपरीक्षक (एसएसपी) को ११ वटा शक्तिशाली पद रिक्त भएको तिन साता नाघिसक्दा पनि बढुवा प्रक्रिया अघि बढ्न सकेको छैन। १६ जेठमा ११ जना एसएसपीहरू प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएसँगै खाली भएका पदहरूमा बढुवाको अपेक्षा गरिएको थियो। तर, गृहसचिव गोकर्णमणि दुवाडी देशबाहिर रहेका कारण बढुवा सिफारिस समितिको बैठक बस्न नसकेको र प्रक्रियामा अनिश्चितता देखिएको हो।

प्रहरी संगठनभित्र नेतृत्व चयनको यही अनिश्चितताले गर्दा दर्जनौं आकांक्षी अधिकृतहरू दौडधुपमै सीमित छन्। उनीहरूमा बढुवा हुने आशा र अन्योलको मनोदशा देखिन्छ।

प्रतिस्पर्धाको मैदान कसको लागि?

एसएसपी पदका लागि करिब तीन दर्जन प्रहरी उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन्। मुख्य प्रतिस्पर्धा २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएकाहरूभित्र देखिएको छ। तर, सबभन्दा अनुभवी उम्मेदवारका रूपमा २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा आएका बिमल बस्नेत अग्रपंक्तिमा छन्।

२०५८ साल ब्याचका थुप्रै अधिकृत यस पटक एसएसपी बन्ने प्रबल दाबेदार मानिएका छन्। तीमध्ये प्रकाश रानाभाट, कमल थापा, तुलबहादुर कार्की, रोकश सिंह, राजीवबहादुर बस्नेत, दिपक पोखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल, दयानिधि ज्ञवाली, र भुवनेश्वर तिवारी रहेका छन्।

यस्तै दौडमा रहेका अन्य प्रतिस्पर्धीहरूमा ऋषिराम कडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रप्रसाद सिंह, श्यामसिंह चौधरी, नकुल पोखरेल, पदमबहादुर बिष्ट, सुवासचन्द्र बोहरा, बासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे, वीरेन्द्रबहादुर शाही, जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सिना र रमेश पण्डित जस्ता नाम पनि प्रमुख दावेदारका रूपमा चर्चामा छन्।

बढुवा ढिलाइको असर: तल्लो तहसम्म

एसएसपीको बढुवा प्रक्रिया अघि नबढेसम्म प्रहरी संगठनको आन्तरिक पदोन्नति संरचना ठप्पजस्तै बनेको छ। एसएसपीमा नियुक्ति नभएसम्म एसपी पदका लागि डीएसपीको बढुवा सम्भव छैन। यसले चेन अफ कमान्ड लाई कमजोर बनाइरहेको छ।

डीएसपी तहका थुप्रै अधिकृतहरू एसपी पदको पर्खाइमा छन्, तर उच्च तहको निर्णय प्रक्रियामा भएको ढिलाइले गर्दा उनीहरूमा पनि असमञ्जस र निराशा थपिएको छ।

अब गृहसचिव गोकर्णमणि दुवाडी स्वदेश फर्केपछि मात्र बढुवा सिफारिस समिति सक्रिय हुने र प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ। तर, त्यो प्रक्रिया कति निष्पक्ष, पारदर्शी र समावेशी हुनेछ भन्नेबारे पनि प्रहरी संगठनभित्र चासो र चर्चा उत्तिकै तीव्र छ।

बढुवाको यो जटिल मोडमा प्रहरी संगठन भित्र नेतृत्वको भविष्य निर्धारण हुन बाँकी छ। ११ जना मात्र ‘भाग्यमानी’ बन्ने यो प्रतिस्पर्धामा जोकोहीका लागि आशा र निराशा दुवै सम्भावना समान छन्। तर, जसको पनि पदोन्नति होस्, संस्थागत मर्यादा, योग्यता र पारदर्शितालाई केन्द्रमा राख्न सके मात्र प्रहरी संगठनप्रति आम जनविश्वास कायम रहन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय