
काठमाण्डौं— सशस्त्र प्रहरी बल नेपालले मनसुनजन्य प्रकोप न्यूनीकरण तथा उद्धारका लागि देशभर व्यापक तयारी थालेको छ। देशभर ‘विपद् जनचेतना रेस्पोन्स पट्रोल’ सुरु गरिएको छ भने टोलटोलमा विपद् सूचक राख्ने, युनिटहरूमा आधारभूत सामग्री व्यवस्थापन गर्ने, अनुशिक्षण र अभ्यास सञ्चालनजस्ता कार्य अगाडि बढाइएका छन्।
मंगलबार हलचोकस्थित प्रधान कार्यालयमा आयोजित छलफलमा अघिल्ला वर्षका अनुभवका आधारमा नयाँ रणनीति र सुधारका उपायबारे विस्तृत चर्चा गरियो। उपत्यकाका सबै युनिट कमान्डर, फिल्डमा खटिने अधिकृत तथा अन्य दर्जाको सहभागितामा तयारी र परिचालनलाई थप प्रभावकारी बनाउन सुझाव संकलन गरियो।

सशस्त्र प्रहरीले पूर्वकर्मीहरूको संलग्नतासहित वडास्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै, अबदेखि सबै दर्जाको आधारभूत तालिममा १५ दिने विपद् व्यवस्थापन तालिम अनिवार्य गरिनेछ।
महानिरीक्षक राजु अर्यालले विपद्को समयमा स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्न र ढिलाइ नगरी परिचालनमा लाग्न निर्देशन दिएका छन्। हाल सशस्त्र प्रहरीसँग २,४८५ जना विपद् तालिमप्राप्त जनशक्ति, १०८ जना गोताखोर, ३३ मोटरबोट, ९१ र्याफ्टबोट, १३ हेभी इक्युपमेन्ट, २८ डिआरएस कन्टेनर तथा १२ वटा डिप ट्युबवेल तयारी अवस्थामा छन्।
देशभर ५९ युनिटमा मोटरबोट तथा र्याफ्टबोट, १३ जिल्लामा डिआरएस कन्टेनर, ८ स्थानमा सामूहिक उद्धार एम्बुलेन्स तथा विभिन्न स्थानमा ‘ए क्लास’ एम्बुलेन्स परिचालित छन्। साथै, प्रत्येक गण र गुल्मस्तरका युनिटहरूमा विपद् प्रशिक्षित प्लाटुन वा सेक्सन स्रोतसाधनसहित खटिनेछन्।
सशस्त्र प्रहरी बलले मनसुन प्रतिकार्यका लागि स्पष्ट कार्ययोजना तयार गरी सबै तहका कमाण्डरहरूलाई निर्देशन प्रदान गरिसकेको छ।



