काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले प्रशासन र सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। घटनाको जिम्मेवारी र सुरक्षा व्यवस्थाको समीक्षा गर्दै मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख अधिकारीलाई फिर्ता बोलाएको हो।

गृह मन्त्रालयले सुनसरीका सीडीओ घिमिरेलाई मन्त्रालयमा तानेर उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाएको छ।

त्यसैगरी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सरुवा गरिएको छ। उनको स्थानमा विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई सुनसरी पठाइएको छ।

यस्तै, सशस्त्र प्रहरी बल नेपाल, कप्तानगञ्जमा कार्यरत डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ। उनको स्थानमा सशस्त्र प्रहरी प्रधान कार्यालय, काठमाडौंमा कार्यरत डीएसपी मदन नाथलाई खटाइएको गृह मन्त्रालयले जनाएको छ।

आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो। घटनामा ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी गरी कुल २४ जना घाइते भएका छन्।

घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

घटनापछि थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ। प्रशासनले स्थानीयलाई शान्ति कायम राख्न र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय