काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीलाई समयसापेक्ष, न्यायोचित र प्रतिस्पर्धी बनाउन ऐनमै संरचनात्मक संशोधन गर्नुपर्ने माग प्रहरीभित्रैबाट उठ्न थालेको छ। हालको बढुवा ढाँचाले संगठनभित्र करियर अवरोध, असन्तुष्टि र अवसर असमानता सिर्जना गरेको भन्दै आन्तरिक प्रतियोगिता प्रणालीलाई स्पष्ट रूपमा संस्थागत गर्नुपर्ने प्रस्ताव अघि सारिएको हो।

प्रस्तावअनुसार नेपाल प्रहरीको अप्राविधिकतर्फको पदोन्नति प्रणालीलाई पुनःसंरचना गर्दै खुला, बढुवा र आन्तरिक प्रतिस्पर्धाबीच सन्तुलन कायम गर्नुपर्ने उल्लेख गरिएको छ। हालको विवादित ६०–४० को ढाँचा हटाई नयाँ वैज्ञानिक प्रणाली लागू गर्नुपर्ने सुझाव दिइएको छ।

प्रस्तावमा समावेश मुख्य बुँदाहरू यस प्रकार छन्—

– प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा ४०% खुला प्रतिस्पर्धा, ४०% बढुवा र २०% आन्तरिक प्रतियोगिता लागू गर्नुपर्ने।

– आन्तरिक प्रतियोगितामा सहभागी हुन प्रहरी वरिष्ठ नायव निरीक्षक (प्र.ब.ना.नि.) मात्र योग्य हुने व्यवस्था गर्नुपर्ने।

– सेवा अवधिभर अनिवार्य तालिम प्रणाली लागू गर्नुपर्ने।

– प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) को सट्टा प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) बाट भर्ना प्रक्रिया सुरु गर्नुपर्ने।

– प्र.ना.नि. पदमा ६०% खुला र ४०% बढुवा प्रणाली लागू गर्नुपर्ने।-

– विभागीय (Departmental) उम्मेदवारहरूलाई लिखित परीक्षा तथा प्रतिस्पर्धामा सिधै सहभागी हुने व्यवस्था गर्नुपर्ने, केही सहुलियतसहित समान अवसर सुनिश्चित गर्नुपर्ने।

प्रस्तावअनुसार यी परिवर्तनले लामो समयदेखि देखिँदै आएको बढुवा जाम अन्त्य गर्ने र संगठनभित्र प्रतिस्पर्धात्मक वातावरण विकास गर्ने अपेक्षा गरिएको छ।

संगठनभित्र देखिएका असमानता र सुधारको माग

प्रस्तावमा प्रहरी संगठनभित्र विदाइ तथा सम्मान समारोहमा देखिने विभेदप्रति पनि ध्यानाकर्षण गरिएको छ। उच्च तह (सि.प्र.अ. र माथि) मा भव्य तामझाम हुने तर तल्लो दर्जामा सामान्य वा उपेक्षित व्यवहार हुने अवस्थालाई असमानताको उदाहरणका रूपमा उल्लेख गरिएको छ।

त्यस्तै, भ्रमण खर्च तथा सेवा सुविधामा समेत पुरानो दर लागू भएकाले वर्तमान मूल्य प्रणालीसँग असंगत भएको गुनासो गरिएको छ। “बाजेको पालाको दर” अनुसारको सुविधा अहिलेको अवस्थामा पर्याप्त नभएको भन्दै सेवा–सुविधा पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ।

रासन प्रणाली र सेवा गुणस्तरमा असन्तुलन

प्रस्तावमा प्रहरी कर्मचारीले रासन रकम तिर्नुपर्ने तर प्रदान गरिने खानाको गुणस्तरमा एकरूपता नभएको विषयलाई पनि उठाइएको छ। यसले संगठनभित्र असन्तोष बढाएको भन्दै सेवा सुविधा र गुणस्तर दुवैमा सुधार आवश्यक रहेको उल्लेख गरिएको छ।

मनोबल वृद्धि र दक्षता विकासको अपेक्षा

नयाँ प्रस्तावित संरचनाले प्रहरी जवानदेखि माथिल्लो तहसम्म स्पष्ट करियर मार्ग तयार गर्नेछ। यसले अध्ययन, प्रतिस्पर्धा र सेवा–अवधिमा क्षमता विकासको संस्कार मजबुत बनाउने अपेक्षा गरिएको छ।

साथै, प्रस्तावित प्रणाली लागू भएमा राज्यलाई कुनै अतिरिक्त आर्थिक भार नपर्ने तर संगठनको मनोबल वृद्धि, दक्ष जनशक्ति टिकाइराख्ने क्षमता र समग्र कार्यसम्पादन सुधार हुने दाबी गरिएको छ ।

सरोकारवालाहरूले नेपाल प्रहरी ऐनमा समयानुकूल संशोधन गरी यी सुझावहरूलाई मस्यौदा प्रक्रियामै समावेश गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। प्रहरी संगठनलाई अझ व्यावसायिक, पारदर्शी र समान अवसरयुक्त बनाउन यस्तो संरचनात्मक सुधार अपरिहार्य भएको उनीहरूको धारणा छ।

यदि यी सुधारहरू कार्यान्वयन भएमा नेपाल प्रहरीमा दीर्घकालीन सुधार, आन्तरिक स्थिरता र सेवा प्रभावकारिता उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरिएको छ।

तल्लो तहका प्रहरी कर्मचारी (जवान तथा हवल्दार) को सेवा–सुविधा र वृत्ति विकास सुधार गर्न नेपाल प्रहरीको नयाँ विधेयकमा निम्न व्यवस्थाहरू समावेश गर्न आवश्यक देखिन्छ:

१. पदोन्नति प्रणालीमा सुधार
जवान र हवल्दारलाई निश्चित सेवा अवधि (जस्तै ५–७ वर्ष) पूरा गरेपछि स्वचालित रूपमा पदोन्नतिको अवसर प्रदान गरिनुपर्छ। यसले उनीहरूको वृत्ति विकासलाई सुनिश्चित गर्दै संगठनप्रति प्रतिबद्धता र उत्साह बढाउँछ।

२. तलब तथा भत्ता वृद्धि
प्रहरी सेवाको जोखिमपूर्ण प्रकृतिलाई ध्यानमा राख्दै जोखिम भत्ता, आवास भत्ता तथा स्वास्थ्य सुविधामा वृद्धि गरिनुपर्छ, जसले कर्मचारीको जीवनस्तर सुधार गर्न सहयोग पुर्‍याउँछ।

३. ड्युटी समय व्यवस्थापन
लामो समयसम्म निरन्तर ड्युटी गर्नुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै निश्चित कार्य घण्टा, पर्याप्त विश्राम र बिदाको व्यवस्था गरिनुपर्छ। यसले कार्यक्षमता र मानसिक स्वास्थ्य दुवैमा सकारात्मक प्रभाव पार्छ।

४. बीमा तथा स्वास्थ्य सुविधा
प्रत्येक जवान र हवल्दारका लागि उच्च स्तरको जीवन बीमा, दुर्घटना बीमा तथा निःशुल्क र गुणस्तरीय उपचार सेवाको सुनिश्चितता गरिनुपर्छ।

५. तालिम, क्षमता विकास तथा अध्ययन अवसर
नियमित तालिम, सीप विकास कार्यक्रम तथा उच्च शिक्षा अध्ययनका अवसरहरू उपलब्ध गराइ उनीहरूको व्यावसायिक दक्षता अभिवृद्धि गरिनुपर्छ।

यस प्रकारका व्यवस्थाले तल्लो तहका प्रहरी कर्मचारीको मनोबल उच्च राख्नुका साथै समग्र संगठनको कार्यक्षमता र विश्वासनीयता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय