
नेपाली राजनीतिमा प्रायः नेताहरूको नाम, पद र शक्तिको चर्चा मात्र बढी हुन्छ। तर, केही यस्ता सम्बन्धहरू पनि हुन्छन्, जसले राजनीति मात्र होइन, विश्वास र मित्रताको परिभाषा नै बदलिदिन्छन्। त्यसैको एक कसिलो र दुर्लभ उदाहरण हुन्— रवि लामिछाने र उनका विश्वासिला सहयात्री डोलप्रसाद (डिपी) अर्याल।
छायाँजस्तै सहयात्री
रवि लामिछानेको राजनीतिक यात्रा जति चर्चित र उतारचढावपूर्ण छ, त्यसको पृष्ठभूमिमा सधैं दृढतापूर्वक उभिएका पात्र हुन् डिपी अर्याल। उनी केवल राजनीतिक सहकर्मी मात्र होइनन्, बरु एक सच्चा मित्र र कठिन समयको ‘भरोसाको खम्बा’ समेत हुन्। स्वार्थ केन्द्रित राजनीतिको भीडमा यस्तो निस्वार्थ साथ विरलै देख्न पाइन्छ।

उनीहरूबीचको सम्बन्धलाई नियाल्दा रामायणको एउटा कालजयी लय झल्किन्छ। जसरी राम बिना लक्ष्मणको भूमिका अधुरो लाग्छ, त्यसैगरी रविको यात्रामा डिपीको उपस्थिति अपरिहार्य देखिन्छ। तर, अर्यालको भूमिका लक्ष्मणमा मात्र सीमित छैन— उनी ‘भरत’ जस्तै पनि देखिए, जसले संकटको समयमा नेतृत्वको विरासतलाई जोगाउने र सम्हाल्ने साहस देखाए।
संकटको सारथि र नैतिकताको कसी
रवि लामिछाने कानुनी झमेला वा अन्य कारणले नेतृत्वबाट टाढिनुपरेको कठिन क्षणमा डिपी अर्यालले पार्टीको संरचना र गरिमालाई जोगाउने जिम्मेवारी कुशलतापूर्वक निभाए। त्यो केवल राजनीतिक कार्यभार मात्र थिएन, मित्रताको अग्निपरीक्षा पनि थियो। रवि पुनरागमन हुँदा उनले सहजै नेतृत्व सुम्पिएर ‘पदभन्दा निष्ठा ठूलो हुन्छ’ भन्ने उदाहरण पेस गरे, जुन नेपाली राजनीतिमा दुर्लभ मानिन्छ।
यद्यपि, राजनीति आलोचनामुक्त भने रहेन। ‘बालेन प्रधानमन्त्री’ जस्ता केही विवादास्पद अभिव्यक्तिले उनलाई बेलाबेला चर्चा र आलोचनाको घेरामा पनि ल्यायो। तर, एक सच्चा मित्रको पहिचान नै आलोचनाका बीच पनि आफ्नो लक्ष्यमा अविचलित रहनु हो। अर्यालको मूल लक्ष्य आफ्ना सहयात्री रविको सफलता र पार्टीको भविष्य नै देखिन्छ।
नयाँ मोड: अबको गन्तव्य सभामुख
अहिले राजनीति नयाँ मोडमा प्रवेश गरेको देखिन्छ। पछिल्लो राजनीतिक समीकरण र चर्चाअनुसार डिपी अर्याललाई सभामुख बन्ने भएका छन्। सुधन गुरुङ गृहमन्त्री नियुक्त भएसँगै, अर्याललाई संसदको गरिमामय पद सभामुखको भूमिकामा देख्ने पाईने छ।
संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा ९१ (र धारा २९९ को सन्दर्भ) अनुसार, प्रतिनिधि सभाको अधिवेशन सुरु भएको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ। सभामुख र उपसभामुख फरक–फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक बाध्यताका कारण सत्ता समीकरणभित्र शक्ति सन्तुलन मिलाउन यो पद रास्वपाको भागमा पर्ने देखिएको हो।
संघर्षबाट शिखरसम्मको यात्रा
धादिङको सामान्य परिवेशदेखि काठमाडौंसम्मको सङ्घर्ष, जापानको वैदेशिक रोजगारी, व्यवसाय हुँदै राष्ट्रिय राजनीतिसम्मको डिपी अर्यालको यात्रा प्रेरणादायी छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत समानुपातिक सांसद बनेका उनी यसअघि नै श्रम मन्त्रीको रूपमा आफ्नो कार्यक्षमता प्रदर्शन गरिसकेका छन्। अब सम्भावित सभामुखको भूमिकाले उनको राजनीतिक उचाइलाई नयाँ उचाइ दिने निश्चित छ।
राजनीतिमा शक्ति र पदहरू आउने–जाने क्रम चलिरहन्छ, तर संकटको समयमा टिकिरहने मित्रता र विश्वास विरलै पाइन्छ। रवि लामिछानेका लागि डिपी अर्याल केवल एक सहकर्मी होइनन्, उनी त्यो ‘अदृश्य शक्ति’ हुन् जसले पर्दा पछाडि बसेर पनि नेतृत्वलाई सधैं मजबुत बनाइरहन्छन्।
त्यसैले त, नेपाली राजनीतिमा जब रविको चर्चा हुन्छ, तब डिपी अर्यालको नाम स्वतः जोडिएर आउँछ।



