
काठमाडौँ । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीलाई ऐनले दङ्गा नियन्त्रण गर्ने स्पष्ट म्यान्डेट दिएको बताएका छन्। काठमाडौँ उपत्यका हेर्ने नम्बर–९ पशुपतिनाथ बाहिनीको २२ औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले दङ्गा नियन्त्रणसम्बन्धी कार्ययोजनाको प्रस्ताव गृह मन्त्रालयमा पेस गरिएको जानकारी दिए।
‘हुलदंगा भइरहन्छ, त्यसलाई नियन्त्रण गर्ने स्पष्ट कार्ययोजना बनाएर गृह मन्त्रालयमा पेस गरेका छौँ,’ उनले भने, ‘यो कार्ययोजना स्वीकृत भएपछि काम गर्न अझ सहज हुनेछ।’

दङ्गा नियन्त्रणका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा रेजिमेन्ट गण गठन गर्न सरकारले स्वीकृति दिइसकेको उनले बताए। उक्त रेजिमेन्ट गण स्थापना भएपछि काठमाडौँ उपत्यकामा हुने दङ्गा नियन्त्रण कार्य थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा उनले सुरक्षा निकायको भूमिका प्रशंसनीय रहेको उल्लेख गरे। ‘जुनसुकै परिस्थितिमा पनि सुरक्षा दिन सक्षम छौँ भन्ने प्रमाणित भएको छ,’ उनले भने, ‘निर्वाचनमा एक थोपा रगतसमेत नबग्नु हाम्रा लागि गर्वको विषय हो।’
उनले प्रस्तावित सशस्त्र प्रहरी विधेयक नयाँ संसद्बाट पारित हुने विश्वास व्यक्त गर्दै अधिकृतहरूमा सिनियारिटीसँगै उत्कृष्ट कार्यकौशल आवश्यक रहेकोमा जोड दिए।



