विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साललाई २०८२ साल फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

प्रहरी कार्यालयका अनुसार डीएसपी लम्सालले विभागीय मूल्य–मान्यता तथा आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको आधारमा यो सम्मान प्राप्त गरेका हुन्।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा झापा निर्वाचन क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्दै सफल निर्वाचन सम्पन्न गराउन उनी प्रमुख जिम्मेवार थिए।

साथै, ‘जेन–जेड आन्दोलन’का क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार खोजी गर्ने क्रममा कार्यालय नजिकैको झाडीबाट वाइ १३४८७ नम्बरको मार्का–४ राइफल बरामद गरिएको थियो। विभिन्न स्थानबाट १९ जनालाई पक्राउ गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेको पनि प्रहरीको भनाइ छ।

फागुन महिनामा दर्ता भएका ३५ मुद्दामध्ये ‘जेन–जेड आन्दोलन’सँग सम्बन्धित १० वटा मुद्दा सबै फर्छ्यौट गरिएको थियो। आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालयको पुनर्निर्माण तथा मर्मत कार्यमा स्थानीय तह, संघसंस्था र बासिन्दासँग समन्वय गर्दै कार्यालयलाई सञ्चालनयोग्य बनाउने काममा पनि उनले सक्रियता देखाएका थिए।

त्यसैगरी, २१७ मोटरसाइकल ध्वनि प्रदूषणको कारण कारबाहीमा ल्याउने, चालु तथा पेन्डिङ मुद्दाका मिसिल पुनःनिर्माणमा समन्वय, र हालसम्म २२ फरार प्रतिवादी पक्राउ गर्न समेत उनको भूमिका महत्वपूर्ण रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर