
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीको प्रमुख आतिथ्यमा ट्राफिक सप्ताहको अवसर पारेर सवारी चालकहरूका लागि एकदिने आँखा शिविर तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नयाँ बसपार्कबाट देशका विभिन्न गन्तव्यतर्फ सञ्चालन हुने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। चालकहरूको स्वास्थ्य अवस्था सुरक्षित र सक्षम भए मात्र सडक सुरक्षा सुनिश्चित हुने विश्वासका साथ यो कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जनाएको छ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एआईजी ईश्वर कार्कीले चालकहरूको दृष्टि क्षमता र स्वास्थ्य अवस्था सडक दुर्घटना न्यूनीकरणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै ट्राफिक प्रहरीले सचेतना र स्वास्थ्यलाई प्राथमिकतामा राखेर यस्ता कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको बताए। उनले भने, “सडक सुरक्षा केवल नियम पालना मात्र होइन, चालकको शारीरिक र मानसिक स्वास्थ्यसँग पनि गहिरो रूपमा सम्बन्धित छ।”
ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका इन्सपेक्टर शेखर कुमार शाहको संयोजनमा सम्पन्न कार्यक्रममा सयौँ चालक तथा सहचालकहरूले आँखा जाँच गराएका थिए। परीक्षणका क्रममा दृष्टि कमजोर देखिएका चालकहरूलाई आवश्यक परामर्श दिइनुका साथै थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको थियो।

कार्यक्रममा ट्राफिक प्रहरी अधिकारीहरू, स्वास्थ्यकर्मीहरू तथा सवारी चालकहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागी चालकहरूले नियमित ट्राफिक चेकजाँचसँगै स्वास्थ्य परीक्षणको व्यवस्था गरिनु सराहनीय भएको प्रतिक्रिया दिएका छन्।

ट्राफिक सप्ताहअन्तर्गत काठमाडौँ उपत्यकाभरि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका छन्। ट्राफिक प्रहरीका अनुसार आगामी दिनहरूमा पनि सडक सुरक्षा, चालक सचेतना तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिनेछ।



