
काठमाडौं ।नेपाल प्रहरीमा रिक्त हुन लागेको प्रहरी उपरीक्षक (एसपी) दर्जाका ११ दरबन्दीका लागि २१ जना नायब उपरीक्षक (डीएसपी)बीच कडा होड सुरु भएको छ। सम्भावित निर्वाचनका कारण आचारसंहिता लागू भए बढुवा प्रक्रिया स्वतः स्थगित हुने भएकाले समयमै निर्णय गराउनुपर्ने दबाबले प्रतिस्पर्धा झन् तीव्र बनेको प्रहरी वृत्तको बुझाइ छ।
नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार राति १० जना प्रहरी उपरीक्षकलाई बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिस गरेपछि संगठनभित्र व्यापक चलायमानता देखिएको हो। उक्त निर्णय सामान्य पदोन्नतिमा सीमित नरही, प्रहरी संरचनाको माथिल्लो तहदेखि तल्लो तहसम्म प्रत्यक्ष प्रभाव पार्ने ‘चेन–रियाक्सन’ का रूपमा हेरिएको छ।

एसएसपीमा बढुवा सिफारिस भएसँगै हाल कार्यरत ११ वटा एसपी पद रिक्त हुने निश्चित भइसकेको छ। ती पद पूर्ति गर्न २१ जना डीएसपीहरू प्रतिस्पर्धामा उत्रिएका छन्। प्रहरी संगठनमा यो चरणलाई करिअरको सबैभन्दा संवेदनशील मोडका रूपमा लिइन्छ, जहाँ एक निर्णयले भविष्यको जिम्मेवारी, कार्यक्षेत्र र नेतृत्व अवसर निर्धारण गर्छ।
प्रहरी मानव स्रोत विभागका अनुसार बढुवाका आधारमा बरियता, कार्यसम्पादन मूल्याङ्कन, फिल्ड कमाण्ड अनुभव, नेतृत्व क्षमता र व्यावसायिक छविलाई मुख्य मापदण्ड बनाइनेछ। तर, विगतका अभ्यास हेर्दा सिनियारिटीभन्दा पनि पहुँच र प्रभाव निर्णायक बन्न सक्ने जोखिम अझै टरेको छैन भन्ने आवाज स्वयं प्रहरी संगठनभित्रैबाट उठिरहेको छ।
वरिष्ठता सूची (बरियता क्रमअनुसार)
• पुष्पराज मल्ल
• मानबहादुर राई
• रामकुमार दानी
• रबिन श्रेष्ठ
• कुमारविक्रम थापा
• हरिबहादुर ओली
• मोहनबहादुर खड्का
• श्याम अर्याल
• छेदीलाल कामती
• ध्रुवकुमार श्रेष्ठ
• धर्मराज भण्डारी
• बुद्ध श्रेष्ठ
• सागर बोहरा
• भरत लामा
• प्रदीपकुमार सिंह
• प्रकाश सापकोटा
• दिलीपकुमार गिरी
• दीपक भारती
• प्रकाश बिड
• महेन्द्रकुमार मिश्र
• जितेन्द्रकुमार बस्नेत
अब सबैको चासो बढुवा प्रक्रिया कति छिटो र कति निष्पक्ष रूपमा अघि बढ्छ भन्नेमा केन्द्रित छ। आगामी निर्णयले केवल व्यक्तिको होइन, प्रहरी संगठनभित्रको विश्वास र संस्थागत सन्तुलनसमेत परीक्षण गर्ने देखिन्छ।



