गुल्मी । आम निर्वाचन नजिकिँदै गर्दा गुल्मी जिल्ला राजनीतिक रूपमा आकर्षणको केन्द्र बन्दै गएको छ। पुराना दलका प्रभावशाली नेताहरूविरुद्ध नयाँ अनुहारको रूपमा पूर्व नेपाल प्रहरी डीएसपीहरू चुनावी मैदानमा उत्रिन थालेपछि जिल्लाको राजनीति थप तरंगित बनेको हो।

गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका पुराना नेता चन्द्र भण्डारी र क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रदीप ज्ञवाली का सम्भावित प्रत्याशीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दुई पूर्व डीएसपीको नाम चर्चामा आएको छ।

गुल्मी–१ बाट रास्वपाको सम्भावित उम्मेदवारका रूपमा पूर्व डीएसपी तथा हाल अधिवक्ता, रास्वपा गुल्मी जिल्ला सभापति भोजराज पाण्डेय को नाम चर्चामा छ। त्यस्तै गुल्मी–२ बाट एमाले उपाध्यक्ष गोकर्ण विष्ट का सम्भावित प्रतिस्पर्धीका रूपमा पूर्व डीएसपी, अधिवक्ता तथा भिजिट भिसा प्रकरणमार्फत राष्ट्रियस्तरमा चर्चा कमाएका गोविन्द पन्थी लाई अघि सारिने चर्चा चलिरहेको छ।

विशेष कुरा के छ भने, पाण्डेय र पन्थी दुबै नेपाल प्रहरीमा एउटै मितिमा सेवा प्रवेश गरी गत वर्ष एकैपटक अवकाश प्राप्त अधिकारीहरू हुन्। सेवाकालमा उनीहरूले उत्कृष्ट, जनमुखी तथा परिणाममुखी काम गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत प्राप्त गरेका थिए।

यदि उनीहरू दुवै उम्मेदवारका रूपमा विजयी हुन सफल भएमा, गुल्मीको राजनीतिक इतिहासमै नयाँ कीर्तिमान स्थापित हुने जानकारहरूको भनाइ छ। पूर्व सुरक्षाकर्मीको इमानदार छवि, कानुनी दक्षता र जनसेवामुखी पृष्ठभूमिले गुल्मीका मतदातामा नयाँ उत्साह थपिएको देखिन्छ।

राजनीतिक विश्लेषकहरूका अनुसार परिवर्तनको चाहना र नयाँ नेतृत्वप्रतिको आकर्षण बढिरहेका कारण गुल्मीमा यसपटकको निर्वाचनले अप्रत्याशित नतिजा दिन सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय