बारा । बारामा नेपाल प्रहरीका एक अधिकृतको साथबाट सरकारी पेस्तोल रहस्यमय रूपमा हराएको घटनाले मधेस प्रदेश प्रहरीमा तरङ्ग पैदा गरेको छ।

इलाका प्रहरी कार्यालय (इप्रका) कबहीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) सोनुकुमार मिश्रले बोकेको ९ एमएमको सरकारी पेस्तोल हराएपछि घटनाको गम्भीर छानबिन सुरु गरिएको हो। घटनाको अनुसन्धानका लागि सो कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ।

घटना बाहिरिएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले इप्रका कबहीमा कार्यरत सईदेखि कार्यालय सहयोगीसम्मका १२ जना प्रहरीलाई प्रदेश कार्यालयमा झिकाएर अलग–अलग राखी सोधपुछ सुरु गरेको छ। इप्रका कबहीको सुरक्षाको जिम्मेवारी भने अस्थायी रूपमा प्रहरीको अर्को टोलीलाई दिइएको छ।

प्रहरीका अनुसार पेस्तोल हराएको घटना गत पुस ११ गते भएको हो। जानकारी प्राप्त भएपछि एसपी भेष रिजालको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको थियो।

पुस १५ गते गठन भएको समितिले घटनास्थलको प्रारम्भिक अध्ययन सम्पन्न गरी फर्किएपछि थप अनुसन्धानका लागि त्यहाँ कार्यरत सबै प्रहरीलाई शुक्रबार जनकपुर झिकाएको हो।

प्रारम्भिक बयानका क्रममा सई मिश्रले राति गस्ती गर्ने क्रममा पेस्तोल हराएको बताएका थिए। तर, अर्को बयानमा उनले ब्यारेकमै रहँदा हतियार हराएको उल्लेख गरेको छानबिन समितिले जनाएको छ। एउटै घटनाबारे फरक–फरक विवरण आउनुले घटनालाई थप शंकास्पद बनाएको समितिको निष्कर्ष छ।

घटनासँग सम्बन्धित सबै प्रहरी कर्मचारीलाई छुट्टाछुट्टै राखी बयान लिने तथा अनुसन्धान प्रक्रिया तीव्र रूपमा अघि बढाइएको मधेस प्रदेश प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय