काठमाडौँ । नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जिल्ला प्रहरी परिसर काठमाडौँले ‘हाम्रो प्रहरी’ कार्यक्रम सुरु गरेको छ। समुदाय र प्रहरीबीचको सहकार्य, विश्वास र समन्वय अभिवृद्धि गर्न मंगलबारदेखि कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार नागरिक र प्रहरीबीचको सम्बन्ध सुदृढ बनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिक सुरक्षा, विपद् उद्धार, सामाजिक सद्भाव र अमन–चयन कायम गर्न सामूहिक ऐक्यबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो। उनले ‘हाम्रो प्रहरी’ कार्यक्रमले प्रहरी र नागरिकबीचको दूरी घटाई आपसी विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

यसै कार्यक्रमअन्तर्गत भोलि आइतबार काठमाडौँको बसन्तपुरमा एक भव्य कार्यक्रम आयोजना हुने भएको छ। कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, लोकप्रिय गायक कुमा सागर र एलिस राईको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। ‘हाम्रो प्रहरी’ कार्यक्रममार्फत प्रहरीलाई नागरिकको नजिक ल्याउँदै समुदाय–मैत्री प्रहरी सेवाको अवधारणालाई थप सशक्त बनाउने लक्ष्य लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय