
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलमा तीन नायव महानिरीक्षक (डीआईजी) र एक वरिष्ठ उपरीक्षक (एसएसपी) पद थप गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट पठाइएको संगठन तथा व्यवस्थापन अध्ययन (ओएण्डएम) प्रतिवेदनलाई आंशिक स्वीकृति दिँदै तल्लो तहका केही दरबन्दी घटाएर डीआईजी र एसएसपीको दरबन्दी बढाउने निर्णय गरेको हो।

गृह मन्त्रालयका अनुसार इन्टेलिजेन्स ब्युरो, कानुन महाशाखा र विपद् व्यवस्थापन महाशाखामा डीआईजीको दरबन्दी थपिएको छ। अब कानुन महाशाखालाई निर्देशनालयमा रूपान्तरण गरिने छ। महाशाखा हुँदा एसएसपी प्रमुख रहने व्यवस्था थियो भने नयाँ संरचनामा निर्देशनालय प्रमुख डीआईजी हुनेछन्।
यस्तै, इन्टेलिजेन्स ब्युरोमा पनि डीआईजी दरबन्दी थपिएको छ।
यस अघि सशस्त्र प्रहरीले २ प्राविधिकसहित १८ डीआईजी दरबन्दी पाएको थियो। नयाँ तीन पद थपिएसँगै डीआईजीको कुल संख्या २१ पुगेको छ। उल्लेखित तीनवटै व्यवस्थापन तहमा यसअघि एसएसपीले नेतृत्व गर्ने व्यवस्था थियो।




