
काठमाडौं । प्रहरी संगठनभित्र आफ्नो काबिलियत, बौद्धिक क्षमत र इमानदार छविका कारण परिचित वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी अखेर प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा सिफारिस समितिले अधिकारीलाई डीआईजीमा सिफारिस गर्दै रुपैयाँ–पैसाको खेल वा राजनीतिक पहुँचभन्दा योग्यता र क्षमताले जित्छ भन्ने सन्देश दिएको छ।

यसअघि भएको बढुवामा पहिलो नम्बरमा रहेर पनि अधिकारी अर्थहीन कारणले छुटिएका थिए। त्यतिबेला पाँच एसएसपीलाई डीआईजीमा उकासिँदा अधिकारी जस्तो योग्य अधिकारीलाई बेवास्ता गरिएको भन्दै सुरक्षा क्षेत्रदेखि राजनीतिक वृत्तसम्म व्यापक आलोचना भएको थियो। सुरक्षा विज्ञरूले समेत उनको छुटाईलाई व्यवसायिकताको अपमान भनेका थिए।
यसपटक भने, निरन्तरको इमानदार काम, रणनीतिक समझदारी, संगठनप्रति समर्पण र अपराध अनुसन्धानमा देखिएको उनको नेतृत्व क्षमता मूल्यांकनमा निर्णायक प्रमाण बनेको बुझिएको छ।
एसएसपी अधिकारीलाई प्रहरी संगठनमा काबिल, योजनाबद्ध र बौद्धिक शैलीमा काम गर्ने अधिकारीका रूपमा चिनिन्छ। उहाँले संवेदनशील मुद्दा, नेत्रृत्व क्षमत र टीमवर्कमा देखाएको दक्षता प्रहरी संगठनको सम्पत्ति मानिन्छ।
उनको यो सिफारिसले संगठनभित्र योग्य व्यक्ति अन्ततः उठ्छन् भन्ने विश्वसनीयता पुनः स्थापित गरेको छ।



