
काठमाडौं । शुक्रबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी ईश्वर कार्कीलाई बढुवा सिफारिस गरेको छ । दानबहादुर कार्की आईजीपीमा पदोन्नति भएपछि खाली रहेको एआईजी पदमा कोसी प्रदेश प्रहरी प्रमुखसमेत रहेका डीआईजी कार्कीलाई सिनियरटीका आधारमा सिफारिस गरिएको हो । यससँगै प्रहरी संगठनमा अब डीआईजीको एक पद रिक्त भएको छ ।
एआईजीपछिको डीआईजी बढुवा प्रक्रियालाई पनि यसपटक विशेष चासोका साथ हेरिएको छ । विशेष गरेर, वरियताक्रममा पहिलो नम्बरमा भएर पनि अघिल्लो बढुवामा छुटाइएका विश्व अधिकारीलाई यसपटक न्याय हुने अपेक्षा धेरैले गरेका छन् । दुई साताअघिको बढुवामा उनलाई जेन–जी आन्दोलनको बहानामा रोकिएको थियो ।

भदौ २३ र २४ का घटनाका बेला काठमाडौं प्रहरी परिसरका इञ्चार्जको भूमिकामा रहेका एसएसपी अधिकारीलाई छानबिनको प्रक्रिया पूरा नै नगरी बढुवाबाट वञ्चित गरिएको भन्दै उनको पक्षमा प्रश्न उठ्दै आएको छ । जेनजी आन्दोलनका क्रममा भएको क्षति छानबिन गर्न बनेको आयोगले काम सुरु गर्नुअघि नै अधिकारीको बढुवा रोकिएकोले, सरकारले छानबिनलाई एक अधिकृतमाथि मात्र केन्द्रित गरेको आरोपसमेत लागेको छ ।
यहीबीच, सोही आन्दोलनपछिको संवेदनशील परिस्थितिमा काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको नेतृत्व सम्हालेका दानबहादुर कार्कीलाई भने सरकारले आईजीपीमा बढुवा गरिसकेको हुँदा अधिकारीलाई निरन्तर बहानामा रोकिराख्नु “अन्याय र पूर्वाग्रह” बाहेक अरु केही नभएको गृह मन्त्रालयकै एक उच्च स्रोतको भनाइ छ ।
तत्कालिन आईजीपी चन्द्रकुवेर खापुङले एसएसपी अविनारायण काफ्लेलाई बढुवा गर्न नियतबस एसएसपी अधिकारीलाई छुटाएको आरोप पनि पहिले नै लागेको थियो । अत्यन्त सक्षम र सिनियर अधिकारीमाथि गरिएको यो अन्याय अब नवनियुक्त आईजीपी दानबहादुर कार्कीले सुधार्ने अपेक्षा सुरक्षा क्षेत्रभित्र छ ।
रिक्त हुने डीआईजीको एउटै पदका लागि अधिकारीसँगै सोमेन्द्रसिंह राठौर, गोपालचन्द्र भट्टराई र प्रवीण पोखरेल पनि प्रतिस्पर्धामा छन् ।



