
सुरक्षा सरोकार । देशको सुरक्षा संयन्त्रमा पछिल्लो समय एक रोचक संयोग देखिएको छ—आन्तरिक सुरक्षा व्यवस्थापनका दुई अत्यन्त महत्वपूर्ण जिम्मेवारी अहिले एउटै जिल्लाका व्यक्तिहरूले सम्हालिरहेका छन्। गुल्मीका दुई छोराले यतिबेला देशको शान्ति–सुरक्षाको बागडोर सम्हालेका हुन्।
गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले अधिवक्ता ओमप्रकाश अर्याललाई गृहमन्त्रीको जिम्मेवारी सुम्पिएको छ भने गृहमन्त्रालयकै मातहतमा रहने सुरक्षा निकाय नेपाल प्रहरीको नेतृत्व दानबहादुर कार्कीले सम्हालेका छन्। कार्कीले बिहीबारमात्रै आईजीपीको फुली लगाएका हुन्।

गृहमन्त्री अर्याल गुल्मीको इस्मा गाउँपालिका–६, अम्मपुरका बासिन्दा हुन्। उनी जनहितका मुद्दामा सक्रिय अधिवक्ता तथा कानुनविद् हुन्, जसले काठमाडौँ महानगरपालिकाका लागि कानुनी सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्। २०३२ पुस १७ गते अमरपुर (हाल इस्मा–६) मा जन्मिएका अर्याललाई ३० भदौ २०८२ मा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गृह तथा कानुन, न्याय र संसदीय मामिला मन्त्रालयको दोहोरो जिम्मेवारी दिएका थिए।
उता, नेपाल प्रहरीका नयाँ आईजीपी दानबहादुर कार्की गुल्मीकै मालिका गाउँपालिका–७, घमिरका निवासी हुन्। इस्मा र मालिका गाउँपालिका भौगोलिक रूपमा एक–अर्कासँग जोडिएका पालिका भएकाले यी दुई प्रमुख व्यक्तित्वबीचको ‘गुल्मी कनेक्शन’लाई झनै रोचक बनाएको छ।
२०५४ चैत १८ मा नेपाल प्रहरीमा प्रवेश गरेका कार्की गायन र नृत्य दुवैमा रुचि राख्छन्। उनका केही गीतहरू बजारमा आइसकेका छन्। लामो समयदेखि प्रहरी सेवामा समर्पित कार्की पेसागत दक्षता, अनुशासन र नेतृत्व क्षमताका कारण सहकर्मी र वरिष्ठहरूबाट प्रशंसित व्यक्तित्व मानिन्छन्। दीर्घ प्रशासनिक, अनुसन्धानात्मक र कमाण्ड अनुभवपछि अन्ततः उनले संगठनको सर्वोच्च पद सम्हाल्ने अवसर पाएका हुन्।
देशभरि शान्ति–सुरक्षा, कानुन कार्यान्वयनदेखि संवेदनशील निर्णय र संकट व्यवस्थापनसम्मका चुनौतीपूर्ण जिम्मेवारी अहिले यी दुई गुल्मेली नेतृत्वकै काँधमा छन्। गृहमन्त्री अर्यालको नीति–निर्देशन र आईजीपी कार्कीको कार्यान्वयन क्षमताले अबको सुरक्षा मोडेल कस्तो बन्छ भन्ने चासो स्वाभाविक रूपमा बढेको छ।
देशको उच्चतम आन्तरिक सुरक्षा संरचनाका शीर्ष दुई पदमा एउटै जिल्लाका व्यक्तिहरूको उपस्थितिले ‘गुल्मी कनेक्शन’लाई दुर्लभ, ऐतिहासिक र चर्चामूलक संयोगका रूपमा स्थापित गरेको छ।



