काठमाडौं । सामाजिक सञ्जालका विभिन्न असम्बन्धित ग्रुपमा नबस्न प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कडाइका साथ निर्देशन दिएको छ।

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार पदभार सम्हालेपछि आन्तरिक सर्कुलर जारी गर्दै प्रहरी कर्मचारीहरूलाई असम्बन्धित च्याट ग्रुप, पेज तथा सूचना स्रोतहरूबाट टाढा रहन स्पष्ट निर्देशन दिएका हुन्। यो कदम सुरक्षित सूचना व्यवस्थापन, संस्थागत अनुशासन र प्रहरी संगठनको छवि जोगाउने उद्देश्यले उठाइएको बताइन्छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजीपी अबीनारायण काफ्लेका अनुसार यसअघि पनि प्रहरी प्रधान कार्यालयले पटक–पटक असम्बन्धित ग्रुपमा नजोडिन अनुरोध गर्दै आएको भए पनि अब यसलाई थप कडाइका साथ कार्यान्वयनमा ल्याइनेछ।

प्रवक्ता काफ्लेले भने, “सूचना तथा जानकारीका लागि नेपाल प्रहरीकै आधिकारिक पेज, वेबसाइट र ग्रुपहरू उपलब्ध छन्। असम्बन्धित ग्रुपमा बसेर अनावश्यक गतिविधि बढ्न सक्छ, त्यसैले अहिले कडाइ गरेका छौं।”

हेडक्वाटरको यो निर्देशन जारी भएपछि हाल प्रहरी कर्मचारीहरू सामाजिक सञ्जालका विभिन्न ग्रुपबाट तीव्र रूपमा बाहिरिन थालेका छन्।

यस्तै, विभिन्न च्याट ग्रुपहरू प्रहरीले सूचना आदान–प्रदानको माध्यम बन्नुको सट्टा एक–अर्काको आलोचना, व्यक्तिगत गुनासो र अनावश्यक बहसको थलो बन्दै गएकाले, ती ग्रुपहरूलाई नियन्त्रणमा ल्याइएको कदम अत्यन्त सकारात्मक भएको जानकारहरू बताउँछन्। उनका अनुसार, अनुशासनमा आधारित सुरक्षा निकायका सदस्यहरूले अनौपचारिक वा असम्बन्धित ग्रुपमा बसेर सूचना जोखिममा पार्ने तथा संस्थाको छवि प्रभावित पार्ने सम्भावना धेरै हुन्छ।

विवाद, गालीगलौज, समूहगत ध्रुवीकरण, आदेश–अनुशासन विपरीतका गतिविधि, यसैमार्फत बाहिरिने संवेदनशील सूचनाको जोखिम जस्ता समस्याहरू बढ्दै गएको भन्दै विज्ञहरूले प्रहरी नेतृत्वले चालेको कदम समयानुकूल र आवश्यक भएको टिप्पणी गरेका छन्।

सुरक्षा निकायभित्र अनुशासन कायम राख्ने, आन्तरिक सूचना सुरक्षित राख्ने र कार्यक्षमता बढाउने दृष्टिले हेडक्वाटरको यो निर्णय संगठनलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय