
काठमाडौं । जेन–जी आन्दोलनका अगुवाहरूले राजीनामाको माग गर्दै दबाब बढाएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै गृह मन्त्रालयको जिम्मेवारी अत्यन्त संवेदनशील रहेको उल्लेख गर्दै शुद्ध मनले काम गर्नुपर्छ भनेका छन्।
गृहमन्त्री अर्यालले लेखेका छन्, “गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ भन्नै मिल्दैन, के गरौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहनेबाहेक हामीसँग अरु विकल्प हुँदैन।”

उनले सरकारको जिम्मेवारी सुशासन र स्थिरतामार्फत देशलाई निर्वाचनको निकाससम्म पुर्याउने रहेको भन्दै सो उद्देश्य पूरा गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट पारे।
जेन–जी आन्दोलनका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कामप्रति असन्तुष्टि जनाउँदै उनको राजीनामा माग गरेका छन्। त्यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका विश्वासपात्र भिक्टोर पौडेलले पनि केही दिनअघि सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई हटाउन ‘ट्रेन चलाउनुपर्ने’ टिप्पणी गरेका थिए।
जेन–जी आन्दोलनका नेताहरूले आन्दोलनमा राज्यको तर्फबाट भएको दमनका जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने अडान दोहोर्याउँदै आएका छन्।



