काठमाडौं । दरबारमार्गस्थित नेपाल ट्रष्टको जमिन अनियमित तवरले लिज (भाडा) मा दिइएको आरोपमा पूर्वसहसचिव लेखबहादुर कार्की पक्राउ परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) सक्रिय रूपमा अघि बढेको छ। सिआईबीका प्रमुख एआईजी डा. मनोजकुमार केसीको नेतृत्वमा यो प्रकरणसहित अन्य सरकारी जमिन लिजसम्बन्धी अनियमिततामा पनि गहिरो अनुसन्धान थालिएको छ।

शनिबार पक्राउ परेका कार्कीलाई आइतबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि लगिने भएको छ। डा. केसीका अनुसार दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिज प्रकरणमा संलग्न अन्य व्यक्ति र निर्णय प्रक्रियामा आबद्ध अधिकारीहरूमाथि आजैदेखि सोधपुछ सुरु हुने तयारी गरिएको छ।

डा. केसीले जनाएका छन् कि उक्त प्रकरण मात्र नभई विगतमा तामेलीमा परेका अन्य सरकारी जमिन लिजसम्बन्धी उजुरी र जाहेरीमाथि पनि सिआईबीले अनुसन्धान तीव्र बनाएको छ। विशेष गरी गोकर्ण भिलेज रिसोर्ट सञ्चालनका लागि गरिएको अनियमित सम्झौतामा समेत गम्भीर अनुसन्धान भइरहेको उनले बताए।

“प्रमाण पुगेका दिन नै जो–कोहीमाथि पनि कारवाही हुन्छ,” एआईजी केसीले भने, “अब कुनै पनि मुद्दा रोकिँदैन, सम्पूर्ण अनुसन्धान निष्कर्षमा पुग्नेछ।”

डा. केसीले एसएसपी दर्जामा रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुआती अनुसन्धान गरेका थिए। त्यसबेला उनले उच्चपदस्थ व्यक्तिलाई समेत कारवाहीको दायरामा ल्याउने साहस देखाएका थिए, जसपछि उनको सरुवा गरिएको थियो।

हाल सिआईबीमा पुनः उनका नेतृत्वमा अनुसन्धान तीव्र बनेको भन्दै प्रहरी वृत्तदेखि नागरिक समाजसम्म एआईजी केसीको कामको प्रशंसा भइरहेको छ। भ्रष्टाचारविरुद्धको दृढता, निष्पक्षता र सक्रियताका कारण उनको नेतृत्वमा सिआईबीप्रति जनविश्वास पुनः बढ्न थालेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय