
बुटवल — इलाका प्रहरी कार्यालय बुटवलले भन्सार छली गरी ल्याइएका आइफोन, लत्ता कपडा तथा चोरी गरिएका सुनका गरगहना र नगद सहित एक जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) इन्द्र रानाका अनुसार प्रहरीले बुधवार राति तिलोत्तमास्थित सिद्धार्थ राजमार्गबाट ३१ थान आइफोन बरामद गरेको हो।

प्रहरी टोलीले राति करिब ९ बजेतिर तिलोत्तमा नगरपालिका–१५, सखुवानीस्थित सिद्धार्थ राजमार्गको पश्चिम सर्भिस लेनमा बेवारिसे अवस्थामा राखिएको झोला फेला पारेको थियो।
झोला बोकेको व्यक्ति प्रहरीलाई देखेपछि भागेपछि खानतलासी गर्दा ३१ थान आइफोन बरामद भएको रानाले जानकारी दिए। बरामद गरिएका मोबाइलको हालको बजार मूल्य करिब रु. १६ लाख ६५ हजार बराबर रहेको उनले बताए।
त्यस्तै, गत कार्तिक १३ गते बुटवल उपमहानगरपालिका–११, प्रगतिनगरकी चन्द्रकला रानाको घरबाट चोरी भएका सुनका गरगहना र नगद ८० हजार रुपैयाँ सहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति बुटवल–७ बस्ने ३० वर्षीय सुमन घले रहेका छन्।
उनको साथबाट कानका झुम्का, बाला, हार, तिलहरी, मंगलसुत्र, ८० हजार रुपैयाँ नगद र चोरीमा प्रयोग भएको मोबाइल समेत बरामद गरिएको प्र.ना.उ. रानाले जानकारी दिए।
घलेलाई जिल्ला अदालत रुपन्देहीबाट म्याद लिएर हाल इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको छ।
यसैगरी प्रहरीले भन्सार छली गरी ल्याइएका ९४ थान जिन्स पाइन्ट, ८४ थान कुर्ता–सुरुवाल, १६ थान सल, मोजा, कुर्ता, केराउ, रजनीगन्धा लगायतका सामग्री समेत बरामद गरेको छ, जसको मूल्य करिब रु. ८७ हजार रुपैयाँ भन्दा बढी रहेको बताइएको छ।
बरामद गरिएका सबै आइफोन र लत्ता कपडा लगायतका सामग्रीहरूलाई आवश्यक कारबाहीका लागि बिहीबार भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिए।



