
सुरक्षा सरोकार —जेनजी आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालयहरूमा रहेका सवारीसाधन जलेर नष्ट भएपछि नेपाल प्रहरीले नयाँ सवारीसाधन खरिद प्रक्रिया अगाडि बढाएको छ।
प्रहरीले करिब ५०० वटा सवारीसाधन खरिदका लागि स्वीकृति माग्दै फाइल गृह मन्त्रालयमा पठाएको जनाएको छ। गृहबाट स्वीकृति प्राप्त भएपछि फाइल अर्थ मन्त्रालयमा पुग्ने र त्यसपछि मात्र खरिद प्रक्रिया औपचारिक रूपमा सुरु हुने बताइएको छ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी विनोद घिमिरेका अनुसार, “क्षति भएको संख्यामा सवारीसाधन खरिदका लागि गृहमा फाइल पठाएका छौं। अहिले आवश्यक सवारीसाधनको संख्या स्पष्ट गरिएको छ, तर बजेट गणना गर्न बाँकी छ।”
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा करिब ५०० सवारीसाधन जलेका थिए। तीमध्ये १४९ वटा हलुका, ३०९ वटा दुईपाङ्ग्रे र ३३ वटा हेभी सवारीसाधन रहेका थिए। क्षति भएपछि प्रहरीलाई अहिले भाडाका सवारीसाधन प्रयोग गर्नुपर्ने बाध्यता छ।
जेनजी आन्दोलनअघि नै प्रहरीले चालु बजेटबाट ८७ वटा सवारीसाधन खरिद प्रक्रिया सुरु गरेको थियो। त्यसैबीच, जलेका ५५० भन्दा बढी युनिट भवनहरूको पुनर्निर्माण कार्य जनस्तरको सहयोगमा तीव्र गतिमा भइरहेको छ। काठमाडौं उपत्यकाभित्र मात्रै साढे ९ करोड रुपैयाँ बराबरको सहयोगमा कतिपय कार्यालय भवन मर्मतसम्भार भइसकेका छन् भने केही अझै मर्मतको क्रममा छन्।
भीड नियन्त्रणका लागि आवश्यक सामग्रीहरूको खरिद पनि सुरु भइसकेको प्रहरी स्रोतले जनाएको छ। हालै ४०० थान सिल्ड प्राप्त भएको र ती परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ।
भदौ २४ गतेको आन्दोलनमा प्रहरीका धेरैजसो सिल्ड र पोशाक जलेका थिए। अहिले ललितपुर जिल्ला प्रहरी परिसरका ११०० मध्ये करिब २०० जनाकै लागि मात्र यस्ता पोशाक उपलब्ध छन्, बाँकीका लागि नयाँ खरिद गर्नुपर्ने अवस्था छ।
त्यस्तै, अराजक समूहले प्रहरीका १२ सयभन्दा बढी हतियार लुटेका थिए, जस मध्ये करिब ९०० हतियार अझै फेला परेका छैनन्।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने मिति तय भइसकेको अवस्थामा, प्रहरीका लागि सवारीसाधन, पोशाक र भिड नियन्त्रण उपकरणहरूको तत्काल आवश्यकता बढेको प्रहरी अधिकारीहरूले बताएका छन्।



