
सुरक्षा सरोकार । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। शुक्रबार भएको सरुवाको निर्णयसँगै मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुखहरूमा हेरफेर गरिएको हो।
यी दुवै प्रदेशका प्रमुख एआईजीमा बढुवा भएर पदस्थापन भएसँगै नयाँ डीआईजीहरूलाई प्रदेश प्रमुखका रूपमा खटाइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत डीआईजी गोविन्द थपलियालाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ भने सुदूरपश्चिम प्रदेशमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीआईजी ओमबहादुर रानालाई सरुवा गरिएको छ।
यसअघि मधेसमा उमाप्रसाद चतुरवेदी र सुदूरपश्चिममा डम्बरबहादुर विक कार्यरत थिए। उनीहरू दुवै जना हालै एआईजीमा बढुवा भइसकेका छन्।
त्यस्तै, प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेको पनि सरुवा गरिएको छ। उनलाई प्रशासन विभागमा खटाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। यद्यपि, सरुवाको निर्णय भइसके पनि घिमिरे केही समय प्रवक्ताको जिम्मेवारीमै रहनेछन्।
चार जना डीआईजी एआईजीमा बढुवा भएसँगै नेपाल प्रहरीमा हाल चार डीआईजीको पद रिक्त भएको छ।



