
काठमाडौं — प्रहरी महानिरीक्षक (प्र.म.नि.) चन्द्र कुबेर खापुङले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक विशेष समारोहबीच हालै पदोन्नति भएका चार जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन्।

समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले नव–सुशोभित प्रहरी अधिकृतहरूका धर्मपत्नीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले दर्ज्यानी चिन्हद्वारा सुशोभित अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले पदोन्नति संगठनप्रति पुर्याइएको योगदान, पेशागत दक्षता र कार्यकुशलताको मूल्याङ्कनको परिणाम भएको उल्लेख गर्दै प्राप्त जिम्मेवारीलाई अनुभव, विवेक र सामूहिक भावना सहित संगठनको विकास र हितमा समर्पित भएर काम गर्न आग्रह गर्नुभयो।
उहाँले भने, “नेपाल प्रहरीको विकल्प भनेको अझ सुधारिएको नेपाल प्रहरी नै हो। विगतका कमजोरीको विश्लेषण गर्दै अझ परिष्कृत र नागरिकमैत्री सेवा प्रवाह गर्न उच्च मनोबलका साथ कार्य गर्न आवश्यक छ।”
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौरले संविधान र कानुनको परिधिभित्र रही शान्ति, सुव्यवस्था र कानुन कार्यान्वयनमा इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ भएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत अन्य अधिकृत र जवानहरूको उपस्थिति रहेको थियो।



