काठमाडौं, २३ असोज । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका ८ सयभन्दा बढी हतियार अझै फेला पर्न सकेका छैनन्।

आन्दोलनका क्रममा विभिन्न प्रहरी कार्यालयमा तोडफोड र आगजनी गर्दै प्रदर्शनकारीहरूले साना–ठूला गरी करिब ११ सयभन्दा बढी हतियार लुटेका थिए। तीमध्ये करिब तीन सय हतियार मात्रै सुरक्षा निकायले अहिलेसम्म बरामद गरेको प्रहरीले जनाएको छ। बाँकी ८ सयभन्दा बढी हतियार अझै बेपत्ता रहेका छन्।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, हराइरहेका हतियार खोजीका लागि विशेष समिति गठन गरेर काम भइरहेको छ। उनका अनुसार, हतियार हराउँदा सुरक्षातन्त्रमा चुनौती बढ्दै गएको छ भने केही प्रहरी बलका सदस्यहरू हतियारविहीन हुन पुगेका छन्।

लुटिएका केही हतियार नेपाली सेनाले पनि बरामद गरेको थियो। साथै, केही पेस्तोल र हतियारसहित संलग्न व्यक्तिहरू पक्राउ परेका भए पनि ठूलो संख्यामा हतियार अझै फेला परेको छैन।

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले प्रहरीका हतियार, बर्दी र अन्य सुरक्षासामग्री बोकेर हिँडिरहेका दृश्यहरू तस्बिर र भिडियोमा समेत कैद भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय